प्रि-बजेट छलफल लुम्बिनीमा
बजेट निर्माणपूर्व नीति र योजना सम्बन्धी छलफल प्रारम्भ
लुम्बिनीमा प्रि-बजेट छलफल सुरू
लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित ‘प्रदेश विनियोजन विधेयक, २०८२’ का सिद्धान्त र प्राथमिकतामाथि मंगलबारबाट प्रि-बजेट छलफल सुरू हुँदैछ। दिउँसो १ बजे बस्ने छैटौं अधिवेशनको दशौं बैठकमा छलफल प्रारम्भ हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
यस अन्तर्गत आगामी बजेटमा समावेश गरिने नीति, कार्यक्रम र प्राथमिकताबारे सांसदहरूले आफ्ना सुझाव तथा धारणा राख्नेछन्। छलफल बुधबारसम्म चल्नेछ।
आइतबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सरकारको तयारी अनुसार आगामी बजेटमा सामाजिक क्षेत्र सुदृढीकरण, कृषि तथा पर्यटन प्रवर्द्धन, पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन र समावेशी विकासमा विशेष जोड दिइनेछ।
विनियोजन विधेयकमा भौतिकभन्दा मानवीय विकास, उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकता दिइएको छ। बजेट लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको आधारमा तय गरिएको हो।
साथै, कृषि आधुनिकीकरण, निजी क्षेत्रसँग सहकार्य, लघुउद्यम प्रवर्द्धन, पोषण सुधार, शुद्ध खानेपानी व्यवस्था, गुणस्तरीय शिक्षा–स्वास्थ्य, सीपमूलक तालिम, राजस्व संकलन वृद्धि, र वातावरणीय संरक्षणका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखिएको छ।
गत जेठ ५ गते नीति तथा कार्यक्रम पेश गरिएको थियो, जुन जेठ १० गते प्रदेश सभाबाट पारित भइसकेको छ।



